मोर्चाको अब बस्ने बैठकले जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने

काठमाडौं, माघ २० –  मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले मोर्चाको अब बस्ने बैठकले जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका छन् । 

रिपोर्टर्स क्लबमा बुधबार गरिएको साक्षात्कारमा उनीहरुले एकै खाले आन्दोलन लामो समयसम्म लैजान नसकिने र आन्दोलनले सबैभन्दा बढी तराई मधेसकै जनता पीडित बन्दै गएकोले स्वरुप परिवर्तन गरेर नयाँ कार्यक्रम ल्याउने बताए । 

तराई मधेस सदभावना पार्टीका नेता राम नरेश रायले कुनै पनि आन्दोलन एकै रुपले  धेरै अगाडिसम्म लिएर जान नसकिने भन्दै मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित पुनरावलोकन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सचिवालयमा आन्दोलन परिमार्जनको विषयमा प्रर्याप्त छलफल गरेका छाँै । मोर्चाको बैठकमा हामी त्यो कुरा राख्छौँ ।’

रायले पाँच महिना लामो आन्दोलनलाई सरकारले नटेरेकोले पनि आन्दोलनको स्वरुप परिवर्तन आवश्यक भइसकेको भन्दै अबको आन्दोलनलाई उचाइमा पुर्याउन मधेस केन्द्रित आन्दोलनलाई पहाड हिमालसम्म पुर्याउन आवश्यक रहेको तर्क गर्नुभयो । 

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रित हुने र त्यसको लागि स्वरुप परिवर्तन आवश्यक भएको तर्क गर्नुभयो । 

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आन्दोलनले मधेसी जनता सबैभन्दा मारमा परेकोले आफूहरु आन्दोलन रोक्न आतुर रहेको भन्दै यसको लागि जायज मागको तत्काल सम्बोधन हुनुपर्ने धारणा राख्नुभयो । 

body