पूर्णेन्दू झा निर्देशित नेपाली चलचित्र संरक्षण भदौमा आउने l

नेपाली समाजमा गहिरो असमानता र परम्परागत विषमताहरुले उत्पन्न अस्थिरता रहँदैआएको छ । तर यसको अभिव्यक्ति पक्षपातरहित, पूर्ण र स्वस्थ छैन । अनुकरणात्मक प्रबृत्तिले गर्दा सिर्जनात्मक फाँटलाई पनि विभेदमा आधारित सामाजिक चरित्रले दुष्प्रभावित गरिरहन्छ । केही दिनअघि आएको नेपाली चलचित्र ‘भैरव’ को कथावस्तु र प्रस्तुतिलाई लिएर मधेशी समुदायको चर्को विमति कलाजगतको पूर्वाग्रहलाई अस्वीकार गर्ने दर्शकको रुझानको रुपमा आएको थियो ।
अहिले नेपाली चलचित्र फाँटमा एउटा अर्को निर्माणाधिन चलचित्रको चर्चा सुरुभएको छ । जसमा पनि नेपाली राजनीतिका बास्तविकता, विषमता र वैविध्यलाई पस्किएको मानिएको छ । युवा निर्देशक पूर्णेन्दु झाको निर्देशनमा बन्दैगरेको ठूलो पर्दाका नेपाली चलचित्र‘संरक्षण’ को एउटा गीत सार्वजनिक भएपछि यसको चर्चा चुलिएको छ । होली पर्वमा रमाइलो गर्ने शैलीगत वैशिष्ठ्य, मौलिक साँस्कृतिक स्वादले परिपूर्ण शब्दसङ्गीत र उम्दा अवधारणाले प्रेरित छायाङ्कनसँगै कलाकारहरुको तिखारिएको प्रस्तुतिले संरक्षण अन्य नेपाली चलचित्रको तुलनामा स्तरीय हुने छनक दिएको छ ।
केही समयअघि चर्चित भारतीय फिल्म निर्देशक प्रकाश झाको निर्देशन र स्थापित अभिनेत्री प्रियङ्का चोपडाको लीडरोल रहेको एउटा चलचित्रबाट बलीउडमा डेब्यूगरेका मिथिलाञ्चलका नेपाली सङ्गीतकार प्रवेश मल्लिकको सङ्गीत र स्वर रहेको यस होली गीतले मधेशको साँस्कृतिक जीवनको उमङ्ग र उत्साहलाई पर्दामा थप जीवन्त बनाएको छ । भूगोल र भाषाले कलाकारलाई अभिव्यक्त हुन छेकबार लगाउँदैन भन्ने कुरालाई व्यवहारमा उतार्दै नेपालीभाषी कलाकारहरुले यस गीतमा गाउँठाउँअनुसार नै आफूलाई अनुकूल बनाएका छन् ।
गीतमा अभिनित सुन्दर दृश्यहरुको छायाङ्कन पुरुषेत्तम प्रधानले गरेका छन् भने नृत्यनिर्देशन कविराज गहतराजले गरेका छन् ।
तराई मधेश युवा फ्रन्टका केन्द्रीय अध्यक्ष एवं मातृ पार्टी तमलोपाका केन्द्रीय सदस्य कृष्णा सिँह चलचित्रको यस गीतमा फेरि पनि डेढ दशकअघिको ‘कन्हैया’ बनेका छन् ।

चलचित्र संरक्षण सामाजिक राजनीतिक कथावस्तुमा आधारित नेपाली चलचित्र हो । यसमा नेपाली कलाजगतका सबै पुस्ताका हस्तीहरु छन् भने पहिलोपटक उल्लेख्य सँख्यामा गैरनेपालीभाषी कलाकारहरु पनि छन् । होलीको एउटा गीत सार्वजनिक भएपछि आगामी भदौ महिनामा रिलिज हुने यस चलचित्रको चर्चा चुलिएको छ ।

जनकपुर क्षेत्रका साङ्गीतिक मञ्चहरुमा आफ्नो दमदार नृत्यहरुले दर्शकलाई मन्त्रमुग्ध पार्दैआएका कन्हैयाले वर्षौपछि पनि आफू कलाकार नै रहेको अन्दाजमा यस गीतमा कम्मर मर्काएका छन् । यद्यपी चलचित्रमा भने कृष्णाको भूमिका एउटा राजनेताको रहेको बताइएको छ । “यो चलचित्र एउटा ‘सामाजिक राजनीतिक ड्रामा’ हो । जसले नेपाली समाजको द्वन्द्व र यसबाट उत्पन्न सामाजिक उतारचढावलाई उधिनेको छ”—चलचित्र निर्देशन विषयमै स्नातक निर्देशक झाले भने । उनले संरक्षणले हिमाल, पहाड र मधेशलाई जोड्ने पनि बताए ।
काठमाडौं, हेटौंडा र वीरगञ्जजस्ता ठाउँहरुमा छायाङ्न भइरहेको यस चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, सन् २०११ की मिस नेपाल मलिना जोशी, आशिष्मा नकर्मी, रमेश रञ्जन, नीर साह, रमेश बुढाथोकी, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, श्वेता साह, ममता पण्डित, नन्दू श्रीवास्तव र निर्देश श्रीवास्तव आदि छन् ।
पूर्णेन्दु प्रोडक्सन्स, द्वारिका उदय प्रोडक्सन्स, एचएनएमटी र श्रीवास्त फिल्मसको उत्पादन रहेको चलचित्र संरक्षणको निर्माणमा करिब एक करोड रुपियाँ खर्च हुने बताइएको छ ।

body