ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्छ, हामी सरकारमा जाँदैनौँ : देउवा

काठमाडाै‌, फागुन २८ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्ने भन्दै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने दावी गर्नुभएकाे छ । 

‘सशक्त प्रतिपक्ष नभए शासक तानाशाही हुन्छ । गलत विपक्षी भए प्रजातन्त्र कमजोर हुन्छ । दह्रो प्रतिपक्ष भए प्रजातन्त्र बलियो हुन्छ । त्यसैले हामी प्रतिपक्षमा बस्छौँ । यो सरकारमा हामी जाँदैनाैँ’ शुक्रबार रिपोर्टस क्लबमा भएको साक्षात्कारमा उहाँले भन्नुभयो ।

आफ्नो उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रलाई  बलियो बनाएर अब प्रजातन्त्रालाई कसैले पनि खोस्न नसक्ने अवस्थामा पुर्याउने भएको भन्दै उहाँले संविधानको कार्यान्वयन, सीमांकन मिलाउने र मुलुकमा लगानीको बातावरण बनाएर समृद्ध  र सम्पन्न नेपाल बनाउन लाग्ने बताउनुभयो । 

एक फरक प्रसंगमा उहाँले न्यायपरिषदले गरेको सिफारिस फिर्ता गरेर सभामुख ओनसरी घर्ती मगरले गल्ती गरेको बतानुभयो । ‘सभामुखले हस्तक्षेप गर्ने होइन । सम्मानित पदले यस्तो काम गर्न हुँदैन । उहाँले फिर्ता पठाउने होइन, सुनवाई समिति बनाउने हो । फिर्ता गर्नु परे पनि सुनवाई समितिले गर्छ’ उहाँले भन्नुभयो, ‘न्यायधीश सिफारिस मलाई चित्त बुझोस नबुझोस् त्यसको अर्थ छैन । गलत काम सभामुखले गर्न सुहाउँदैन । सभामुख सम्मानित र तटस्थ पद हो ।’ 

उहाँले आफू सभापति भएपछि पार्टीलाई मिलाउने र एक बनाएर अघि बढाउने जिम्मेवारी आएको बताउनुभयो । देउवाले भन्नुभयो, ‘मेरो कार्यकालका कसैलाई काखापाखा गरिने छैन । सबैलाई समेटेर म अगाडि बढ्छु, सबैको उचित मूल्याङ्कन हुन्छ ।’  

body