क्यान्सरको जोखिम यसरी कम गर्न सकिन्छl

नेपालसहित विश्वभर क्यान्सर रोगका विरामी बढ्दै गएका छन् । यसरी क्यान्सर बढ्दै जानु भनेको व्यक्तिको आफ्नै कारण हो । व्यक्ति आफूले आफैंलाई परिवर्तन गर्न सक्यो भने क्यान्सर जस्तो गम्भीर रोग लाग्नबाट बच्न सकिन्छ । आफूले आफैलाई परिवर्तन गर्नु भनेको आफ्नो जीवनशैली परिवर्तन गर्नु हो ।

जस्तै जाँड, रक्सी, चुरोट, सुर्तीजन्य पदार्थ, तमाखु, गुट्खा लगायत स्वास्थ्यलाई असर गर्ने पदार्थ नखाने । यस्तै चिल्लो, पिरो अनि बढी तेलमा तारेको खाने कुरा नखाए क्यान्सरबाट बच्न सकिन्छ । चुरोट र सुर्तीजन्य पदार्थबाट बच्न सके मात्रै पनि क्यान्सरको जोखिम २२ प्रतिशतले कम गर्न सकिन्छ । 

क्यान्सर के कारणले हुन्छ भनेर किटान गर्न सकिँदैन । तर यसका केही कारक तत्व छन् । प्रमुख कारक तत्व त सूर्तीजन्य पदार्थ नै हो । चुरोट, खैनी, बिँडी र गुट्खाजस्ता पदार्थले क्यान्सरको खतरा बढ्छ ।  त्यसैगरी, मादक र अखाद्य पदार्थ, अखाद्य रंग, रासायनिक पदार्थ राखिएको खाना, ढुसी परेको र नुन धेरै भएको खाना खाएमा पनि क्यान्सर हुन सक्छ । 

अर्को कुरा १० देखि १५ प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक वा वंशाणुगत कारणले पनि हुन्छ । यसका साथै विकीरण, व्यावसायिक प्रदुषण, भाइरस, परजीवि, सरसफाइमा कमी, वंशाणुगत कारण र शारीरिक दुर्बलतालाई पनि क्यान्सरका कारकका रुपमा लिइएको छ । अरु ८५ प्रतिशत भनेको आफ्नै कारणले हुन्छ । खानपान र नियमित व्यायाम गरे क्यान्सरको जोखिम कम गर्न सकिन्छ । 

शरीरको फरकफरक ठाउँका हुने क्यान्सरको लक्षण फरक हुने भएपनि सामान्यतः निको नहुने खोकी वा धोद्रो स्वर हुनु, स्तन वा शरीरको अरु ठाउँमा नदुख्ने गिर्खा आउनु, कोठीको आकारमा परिवर्तन हुनु क्यान्सरका लक्षण हुन् । त्यस्तै निको नहुने घाउ, अत्यधिक रक्तस्राव या पिप, दिसा वा पिसाब गर्ने बानीमा फेरबदल, अपच वा निल्न गाह्रो भए पनि क्यान्सरको खतरा हुन्छ । यस्ता लक्षण देखिनासाथ तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्छ । क्यान्सरको प्रारम्भिक चरणमा नै जाँच गराए निको हुन्छ । त्यसपछि पनि धेरै ढिलो नगरी जाँच गराए निको हुने सम्भावना धेरै हुन्छ । 

उपचार सम्भव हुँदा हुँदै पनि जाँच नगराउनु वा जाँच गराउन लाज मान्नुले गर्दा क्यान्सर रोगको जोखिम बढ्दै गएको हो । नेपालमा क्यान्सर रोगको आधिकारिक तथ्यांक छैन । तर अहिलेसम्म महिला र पुुरुषको तुलना गर्ने हो भने नेपालमा धुमपानकै कारणले फोक्सोको क्यान्सर नै धेरैलाई लागेको पाइन्छ ।

यस्तै  पाठेघरको मुखको क्यान्सर र दोस्रोमा स्तन क्यान्सर हुनेको संख्या पनि बढ्दै गएको छ । यसबाहेक पेट, आमाशय, मुख र प्रोस्टेट क्यान्सरका रोगी धेरै छन् । वर्षमा एकपटक मात्रै भए पनि स्वास्थ्य जाँच गराए क्यान्सर लाग्नबाट बच्न सकिन्छ । रोग लागे पछि धेरै समस्या झेल्नु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । 

क्यान्सर रोग जसलाई पनि र जहाँ पनि हुनसक्छ । क्यान्सर सरुवा रोग होइन तर मानिसमा अझै पनि या रोग सर्छ भन्ने गलत धारणा छ । सरकारले क्यान्सर रोगको उपचारका लागि एक लाख रुपैयाँ अनुदानको पनि व्यवस्था गरेको छ । त्यसैले क्यान्सर लागेको शंका  लाग्ने बित्तिकै स्वास्थ्य जाँच गराऔं अनि खानपानलाई सुन्तुलनमा राखौँ । 

क्यान्सर एक ठाउँमा भए पछि अर्को ठाउँमा पनि सर्ने सम्भावना हुन्छ । सबै प्रकारका क्यान्सर नसरे पनि केही क्यान्सर भने शरीरको एक भागबाट फैलँदै अरु भागमा पनि पुग्छ । क्यान्सरका एक सय भन्दा बढी प्रकार हुन्छन् । जसले शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ । बिश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार सन् २००८ मा विश्वमा ७६ लाख मानिसको क्यान्सरका कारण ज्यान गएको थियो ।

क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत अल्प विकसित र कम विकसित देशमा हुने गरेको छ । चेतनाको अभावले गर्दा नै क्यान्सरका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि सन् २०१८ सम्मका लागि यसपाली हामी सक्छौँ, म सक्छु भन्ने नाराका तय गरिएको छ । आफ्नै एकल प्रयासबाट पनि क्यान्सर रोगको जोखिम कम गर्न सकिने भएकाले यो नारा तय गरिएको हो । 

body