एउटै नम्बरका पाँचवटा लाइसेन्स बग्गीखानामा !

२१ माघ, काठमाडौं । करिब पाँच महिनादेखि एउटा लाइसेन्स ट्राफिक महाशाखामा लडिरहेको थियो । ०८-१३७५५९ नम्बरको  त्यो लाइसेन्स लिन लाइसेन्सवाला कोही पनि आएन । एक महिनापछि फेरि त्यही नम्बरको लाइसेन्स बोकेका व्यक्ति मापसेमा परे । तर, मापसेवाला व्यक्ति फेरि पनि प्रहरीले नियन्त्रणमा लिएको लाइसेन्स लिन आएनन् । एवम् रितले लगातार पाँचवटा लाइसेन्स महाशाखामा आएर थुप्रिए ।
 
पाँचौंपटक भने लाइसेन्स धनी मापसेको जरिवाना तिरेर लाइसेन्स लिन कार्यालयमा आइपुगे । उनी थिए-स्याङ्जाका प्रशान्त अर्याल । अर्याल  गत मंसिर २० गते लाइसेन्स लिन  बग्गीखाना पुग्दा ट्राफिक प्रहरीको फन्दामा परे । उनले गण्डकी अञ्चलबाट लाइसेन्स बनाएका रहेछन् ।
 
प्रहरीका अनुसार अर्यालले जतिपटक काठमाडौंमा मापसे कार्वाहीमा पर्थे, त्यति नैपटक हराएको लाइसेन्स हराएको भन्दै गण्डकी अञ्चलबाटै प्रतिलिपि बनाउँदा रहेछन् । पाँचौंपटक भने ट्राफिक प्रहरीलाई झुक्याउने प्रयास असफल हुँदा उनी हिरासतमा पुगे ।
 
त्यसैगरी रोल्पाका टालबहादुर तामाङ पनि काठमाडौं आउँदा मापसे कार्वाहीमा परे । बाग्मतीबाटै निकालिएको ०६-१८३५८५ नम्बरको लाइसेन्स बोक्ने तामाङ पनि प्रहरीले नियन्त्रणमा लिएको लाइसेन्स लिन गएनन् ।
 
उनले लाइसेन्स हराएको भन्दै सोही नम्बरको अर्को लाइसेन्स बनाए । तामाङको दोस्रो लाइसेन्स पनि मापसे कार्वाहीमा पर्‍यो । यसपटक उनी लाइसेन्स लिन बग्गीखाना पुग्दा ट्राफिक प्रहरीले पक्राउ गर्‍यो ।
 
एउटा अञ्चलबाट लाइसेन्स बनाउनेको रेकर्ड अर्काे अञ्चलमा नहुने भएकाले दोहोरो लाइसेन्स लिन सजिलो हुने डीआइजी चन्दको स्वीकारोक्ति छ ।
 
त्यस्तै तेस्रो घटना पनि बग्गीखानासँग छ । केही महिनाअघि रौतहटका चन्द्रेश्वर चौधरी ट्राफिक चेकिङमा परे । उनले चेकिङमा देखाएको ०६-३५१२२० नम्बरको लाइसेन्स शंकास्पद देखियो । लाइसेन्सको फोटो र व्यक्तिको अनुहार नमिलेपछि ट्राफिक प्रहरीले चौधरीलाई नियन्त्रणमा लियो र लाइसेन्सबारे खोजविन सुरु गर्‍यो ।
 
चौधरीले बोकेको लाइसेन्स अनुसन्धानका क्रममा राकेश मर्हजनको नाममा भएको पाइयो । चौधरीले प्रहरीसँगको बयानमा आफुले उक्त लाइसेन्स बाटोमा भेट्टाएको र यस्तै बेलामा काम लाग्छ भनेर फिर्ता नगरेको प्रहरीलाई वयान दिए ।
 
नक्कली लाइसेन्सको बिगबिगी
 
माथिका तीनवटा फरक-फरक घटनाहरुले नक्कली लाइसेन्सको बिगबिगी  तथा कमजोर वितरण प्रणालीलाई उजागर गरेका छन् । हरेक व्यक्तिको लाइसेन्समा सम्पर्क नम्बर लेखिएको हुन्छ । र, यसरी सम्पर्क नम्बर राख्नुको मुख्य कारण यदि लाइसेन्स हराएमा कसैले फोन गरेर फिर्ता गरोस् भनेर नै हो ।
 
तर, आजको स्वार्थी दुनियाँमा कसैले लाइसेन्स भेट्टाएर फिर्ता दिने सम्भावना कमै छ ।  बरु ट्राफिक कारवाहीमा पर्दा त्यही अर्काको लाइसेन्स प्रहरीलाई दिएर हिँड्ने चलन बढेको छ, चौधरीलेजस्तै ।
 
तीन वर्षमा ११० बेबारिसे लाइसेन्स
ट्राफिक महाशाखाको तथ्यांक अनुसार तीन वर्षमा काठमाडौं उपत्यकामा मात्रै १ सय १० वटा कार्वाहीमा परेर लिन नआएका घटना छन् । विशेष गरेर बाहिरका अञ्चलबाट लाइसेन्स निकाल्नेहरुले दोहोरो लाइसेन्स लिने गरेको पाइन्छ ।
 
आर्थिक वर्ष ७०/७१ मा ४३ वटा दोहोरो लाइसेन्स भेटिएका थिए भने ७१/७२ मा दोहोरो लाइसेन्स लिने ५५ जना कार्वाहीमा परेका थिए । यो वर्षको माघ दोस्रो सातासम्म १२ जना कार्वाहीमा परिसकेका छन् ।
 
हाल वाग्मती अञ्चलबाट नयाँ सवारी चालक अनुमति पत्र लिनेहरुका लागि स्मार्ट लाइसेन्स वितरण भइरहेको छ । तर, नवीकरण गर्ने वा प्रतिलिपी लिनेहरुले भने स्मार्ट लाइसेन्स पाउने गरेका छैनन्  ।
 
ट्राफिक महाशाखाका डीआइजी जयबहादुर चन्दका अनुसार मापसे कार्वाही सुरु भएपछि दोहोरो लाइसेन्स लिनेहरु बढेका छन् । डीआइजी चन्द भन्छन्, ‘मादक पदार्थ सेवन गरेर सवारी चलाउन चालकहरु गैरकानुनी काम गरिरहेका छन् । मापसे कार्वाही स्वय् व्यक्तिको सुरक्षाका लागि हो भन्ने जनभावना अझैसम्म विकास भएकै छैन ।’
 
एउटा अञ्चलबाट लाइसेन्स बनाउनेको रेकर्ड अर्काे अञ्चलमा नहुने भएकाले दोहोरो लाइसेन्स लिन सजिलो हुने डीआइजी चन्दको स्वीकारोक्ति छ । हरेक लाइसेन्सको कम्प्युटर रेकर्ड राख्ने र सबै ठाउँबाट चेक गर्न सकिने प्रविधि भएको भए यस्ता गलत धन्दा रोकन सकिने उनको तर्क छ ।
 
के गर्दैछ यातायात व्यवस्था विभाग ?
केही दिनअघि दरबारमार्ग प्रहरीवृत्तले काठमाडौंमा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ गरेपछि नक्कली लाइसेन्सको धन्दा कसरी चलिरहेको छ भन्ने उदांगो भएको छ । त्यस्ता गिरोहहरु पटक-पटक पक्राउ परिरहेका छन्, तर यातायात व्यवस्था विभागले अझैसम्म लाइसेन्सलाई व्यवस्थित बनाउन सकेको छैन ।
 
स्मार्ट कार्डको व्यवस्था गर्ने चर्चा गरेको वर्षौं बितिसक्दा पनि पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा पनि नक्कली लाइसेन्स बनाउने धन्दा प्रोत्साहित भइरहेको छ । अब स्मार्ट कार्डको प्रयोग व्यवस्थित भएपछि नक्कली लाइसेन्स बनाउनेहरुको धन्दा स्वतः बन्द हुने प्रहरी अधिकारीहरुको दाबी छ ।
 
हाल वाग्मती अञ्चलबाट नयाँ सवारी चालक अनुमति पत्र लिनेहरुका लागि स्मार्ट लाइसेन्स वितरण भइरहेको छ । तर, नवीकरण गर्ने वा प्रतिलिपी लिनेहरुले भने स्मार्ट लाइसेन्स पाउने गरेका छैनन् । वागमतीबाहेक अन्य अञ्चलमा अझैसम्म स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको छैन ।

body