माघ २९ गतेदेखि कामदार विदेश पठाउन बन्द गर्ने संघको चेतावनी

काठमाडौं, माघ २० – फ्रि भिसा फ्रि टिकटको निर्णय संशोधन नगरे वैदेशिक रोजगार व्यवसायीले आगामि माघ २९ गतेदेखि वैदेशिक रोजगारमा कामदार नपठाउने चेतावनी दिएका छन् । 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले विज्ञप्ती जारी गर्दै माघ २९ गते सम्ममा न्यूनतम लागतको निर्णय संशोधन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गर्नु भएको हो । 

गएको जेठ २६ गते सरकारले गरेको न्यूनतम लागत खर्चमा विदेश पठाउनु पर्ने निर्णय कार्यन्वयन गर्नुपर्ने औचित्य नरहेको भन्दै व्यवसायीले कामदार प्रति उत्तरदायी बनेर कार्यन्वयन गर्ने प्रयास गरेपनि निर्णयको केहि बुँदाले असहज भएको विज्ञप्तीमा उल्लेख छ । वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले सरकारले गरेको निर्णयले व्यवसायीमाथि चौतर्फि दवाव भएकाले काम छाड्न लागिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले निर्णय गरेपछि कामदार फ्रि भिसा फ्रि टिकट खोज्छन्, हामीले त्यसरी पठाउन सक्ने अवस्था छैन । चारतिरको दवाव झेल्नुभन्दा कामै छाडिदिन लागेका हौँ ।’ केहि गलत म्यानपावरका कारण कामदार ठगिएको स्वीकार्दै राम्रो गर्ने म्यानपावर पनि बदनाम बनेको खनालले बताउनुभयो ।

अघिल्लो सरकारले वजेट भाषणमा श्रम सम्झौता गर्नका लागि वजेट व्यवस्थापन गरेपनि अहिलेसम्म श्रम मन्त्रालय उदासिन बनेको व्यवसायीको आरोप छ । व्यवसायीले आन्दोलनका कार्यक्रम तय गर्न केहि दिन भित्रमै भेला गर्ने भएका छन् । 

व्यवसायीका माग के छन् ? 

१) कामदार विदेश गएको तीन महिनापछि कामदार फर्किए क्षतीपूर्ति कसले व्यहोर्ने किटान हुनुपर्ने ।  
२) एक महिनाको पारिश्रमिक सेवा शुल्क वापत पाउनु पर्ने । 
३) दुई देशबिचको कामदार आदान–प्रदान सम्झौता गरिनुपर्नेे ।

दुई देशबिचको कामदार आदान–प्रदान सम्झौतामा समेट्न व्यवसायीले माग गरेका विषय 

१) कामदारको न्युनतम ज्याला तोकेर बैंक मार्फत भुक्तानी गर्ने । 
२) २४ घण्टे इन्सुरेन्सको व्यवस्था हुनुपर्ने । 
३) अन्तर्राष्ट्रिय श्रम कानुन अनुसार बासस्थानको ग्यारेन्टी ।    
४) कामदारले घरबाट रोजगार दातासम्म पुग्दाको खर्च कसले कति व्यहोर्ने भन्ने किटान गर्नुपर्ने । 
५) दुई देशका सरकार, व्यवसायी र अधिकारकर्मी सम्मिलित मनिटरिङ डिभिजन खडा गरेर प्रमाणको  आधारमा कारवाहि गर्ने व्यवस्था गर्नुपर्ने । 

body